विधान–२०१७
जारी मिती ः
प्रस्तावना
नेपाली समाजको प्रधान अन्तरबिरोध उत्पिडित जाती र बर्गहरुको शासक साम्भ्रान्त दलाल पुँजीपति र भ्रष्ट दलाल नोकरसाहहरुसंग हो । यी अन्तरबिरोधहरु हल गर्दै संघिय नेपाल अन्तरगत किराती राष्ट्रिय पहिचानमा आधारित किरात प्रदेश स्थापना गर्न किरात पार्टी स्थापना भएको सगर्ब घोषणा गर्दछौं । यस प्रधान अन्तर बिरोध भित्रको जातीय अन्तरबिरोधको हल पहिचान सहितको संघियता तथा सहभागितात्मक सर्बजातीयताको आधारमा गर्न सकिन्छ । त्यस्तै गरेर बर्गिय समस्याको हल राजकीय पुँजीबाद र नौलो समाजबादको माध्यमद्वारा गर्न सकिन्छ । यस प्रकारको सर्बजातीय बिचारको आलोकमा किरात प्रदेश प्राप्ती लगायतको किरात क्रान्ती सम्पन्न गर्दै नेपाली क्रान्ती सम्पन्न गर्नु प्रस्ताबित किरात पार्टीको मुख्य उदेश्य हो ।
यस पार्टीको कार्यनीतिक लक्ष राजकीय पुँजीबाद हो भने रणनीतिक लक्ष नौलो समाजबाद हुँदै समतामुलक समाज निर्माण गर्ने हो । सर्बजातीय बिधि र जातीय तथा भाषिक पहिचान सहितको संघियताबाट जातिय समस्याको हल गर्नु र राजकिय पुँजीबाद र नौलो समाजबादबाट बर्गिय समस्याको हल गर्नु नै यो पार्टीको मुख्य कार्यदिशा हो । जातीहरुको भाषिक, साँस्कृतिक तथा सामाजिक उन्नयन तथा नेपालको आर्थिक समृद्घि नै पार्टीको अन्तिम लक्ष हो । सहभागितात्मक सर्बजातीयता तथा पारदर्शिता यस पार्टीको महत्वपुर्ण मुल्य तथा मान्यताहरु हुन् ।
ब्यापक जन एकता र समान बिचार भएका शक्तीहरु संगको एकता तथा सहकार्यमा किरात पार्टी उदेश्य प्राप्तिको मार्गमा अगाडि बढ्ने छ । यस उदेश्यको निम्ति स्थापित भएको किरात पार्टीलाई ब्याबस्थित रुपमा सञ्चालन गर्न यो किरात पार्टीको बिधान–२०१७ जारी गरिएको छ ।
अध्याय १ प्रारम्भिक
धारा १ पार्टीको नाम
यस पार्टीको नाम किरात पार्टी रहनेछ । अंग्रेजीमा प्ष्चबत एबचतथ हुनेछ ।
धारा २ विधानको नाम र प्रारम्भ
यस विधानको नाम किरात पार्टीको विधान–२०१७÷२०७३ रहेको छ । यो विधान प्रथम् केन्द्रिय भेलाद्धारा पारित भएको मिति देखि लागु हुनेछ । यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
धारा ३ परिभाषा
बिषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस विधानको पारिभाषिक शब्दहरुको परिभाषा निम्न अनुसार छन् ।
१) पार्टी भन्नाले किरात पार्टीलार्ई वुझाउनेछ ।
२) विधान भन्नाले किरात पार्टीको विधान–२०१७ लाई वुझाउनेछ ।
३) नियमावली भन्नाले यस विधान अन्तर्गत वनेको नियमावलीलाई वुझाउनेछ ।
४) सदस्य भन्नाले किरात पार्टीको सदस्यलाई वुझाउनेछ ।
५) पदाधिकारी भन्नाले यस विधानमा व्यावस्था भए अनुसारको पार्टीको बिभिन्न तहका पदाधिकारीहरुलाई जनाउनेछ ।
६) स्वयम् सेबक भन्नाले पार्टीले तय गरे बमोजिमको स्वयम् सेबक बुझाउनेछ ।
७) केन्द्रीय समिति भन्नाले पार्टीको केन्द्रीय समितिलाई जनाउनेछ ।
८) प्रतिनिधि भन्नाले पार्टीले निर्धारण गरेको बिधिद्वारा निर्वाचित प्रतिनिधि सम्झनु पर्नेछ ।
९) संसदीय बिभाग भन्नाले पार्टीको संसदीय समितिलाई वुझाउनेछ । यस शव्दले पार्टीको प्रादेशिक संसदीय बिभागलाई समेत वुझाउनेछ ।
१०) तोकिएको वा तोकिए बमोजिम भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियमावलीमा उल्लेख भएको वा केन्द्रीय समितिले निर्णय गरेर परिपत्रमा जारी गरेको विषयलाई वुझाउनेछ ।
११) जातीय समुह (क्लस्टर) भन्नाले नेपालको जनसंख्याको ६ जातीय समुहहरुलाई जनाइएको छ । ती समुहहरु १) दलित, २) आदिबासी, ३) खस, ४) आर्य, ५) मधेसी र ६) मुसलमान हुन् ।
१२) सर्बजातीय बिधि भन्नाले सबै जातीय क्लस्टरहरुको संख्याको अनुपातमा संबन्धित जातीय क्लस्टर कै महिला र पुरुषहरुको संख्याको अनुपातमा संबन्धित क्लस्टरको महिलाले महिलालाई र पुरुषले पुरुषलाई चुन्ने बिधि हो ।
धारा ४ झण्डा, संकेत चिन्ह र छाप
पार्टीको झण्डा, संकेत चिन्ह (लोगो) र छाप अनुसूची १ मा उल्लेख गरिए बमोजिम हुनेछ ।
अध्याय २ सदस्यता
धारा ५ सदस्यता
पार्टीमा दुई प्रकारका सदस्यहरु हुनेछन् ।
१) साधरण सदस्य ः पार्टीको उद्देश्य, नीति र कार्यक्रमसँग सहमत हुने पार्टीका समर्थक तथा शुभेच्छुकहरुलाई दिइने सदस्यता
२) सकृय सदस्य ः पार्टी प्रति प्रतिबद्ध र पार्टीकोे समितिहरुमा आवद्ध कार्यकर्ताहरुलाई दिइने सदस्यता
धारा ६ साधरण सदस्यता
१) साधरण सदस्यता लिन चाहने ब्यक्तिको देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
क) १८ वर्ष उमेर पुरा भएको नेपाली नागरिक
ख) पार्टीको विधान, घोषणापत्र, नीति तथा कार्यक्रम, कार्ययोजना र निर्णयहरुलाई स्वीकार गर्न तत्पर
ग) पार्टीद्वारा संचालित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने
घ) साधरण सदस्यको लागि तोकिएको शुल्क वुझाउन प्रतिवद्ध
ङ) नैतिक पतन देखिने कुनै अभियोगमा सजाँय नपाएको
च) जनता सित नम्र व्यावहार प्रदर्शन गरी एकाकार भएर काम गर्ने
छ) पार्टीले आयोजना गरेको जनकार्य सहितका कार्यक्रमहरुमा सरिक हुन प्रतिबद्ध
२) साधरण सदस्यता प्राप्त गर्न योग्यता पुगेको ब्यक्तिले इच्छा ब्याक्त गरेको खण्डमा कुनै पनि सदस्यले साधरण सदस्यताको रसिद काटी सदस्यता प्रदान गर्न सक्नेछ । उक्त ब्याक्तिलाई कुनै समिति अन्तरगत समितिबद्ध गरिनु पर्दछ । साधरण सदस्यको गाउँ तथा नगर तह भन्दा माथि पर्यबेक्षक सदस्यको रुपमा मात्र सहभागिता हुनेछ ।
३) तोकिएको शुल्क वुझाई प्रत्येक वर्ष साधरण सदस्यता नवीकरण गर्नु पर्नेछ ।
४) तोकिएको माध्यमद्धारा पार्टीका कृयाकलापबारे टिप्पणी, सुझाव वा आलोचना प्रस्तुत गर्ने, पार्टीद्धारा आयोजित कार्यक्रमहरुमा भाग लिने, जनता बीच पार्टीको प्रचार प्रसार गर्ने, जनताको हकहितको निम्ति पार्टीद्वारा संचालित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने, पार्टीको प्रतिष्ठा अभिबृद्धि गर्ने काममा क्रियाशील रहने आदि साधरण सदस्यको अधिकार तथा कर्तब्यहरु हुनेछन् ।
धारा ७ सकृय सदस्यता
१) सकृय सदस्यता लिन चाहने ब्यक्तिको देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
क) साधरण सदस्यको लागि तोकिएको सबै योग्यता पुरा भएको
ख) पार्टीको कुनै पनि तहको समितिमा रही काम गरेको वा काम गर्न तयार रहेको
ग) पार्टीको सिद्धान्त, कार्यक्रम र नीति प्रति प्रतिवद्ध र विधान तथा निर्णयहरुलाई स्वीकार गर्दैै पार्टीले खटाएको काम गदै आएको वा गर्न तयार रहेको
घ) सहभागितात्मक सर्बजातीय बिचार प्रति प्रतिवद्ध हुँदै राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भूअखण्डताको रक्षाको लागि अग्रसर
ङ) जातीय तथा भाषिक पहिचान सहितको संघियता प्रति प्रतिबद्ध
च) सकृय सदस्यको लागि तोकिएको सदस्यता शुल्क वुझाउन तत्पर रहेको
२) सकृय सदस्यता प्राप्त गर्ने प्रक्रिया देहाय बमोजिम हुनेछ ।
क) सकृय सदस्य वन्न योग्यता पुगेको ब्यक्तिले तोकिएको फाराम भरी आफू कार्यरत रहेको स्थानको समितिमा लिखित आवेदन दिनु पर्नेछ । उक्त समितिले उक्त आवेदनपत्रमा आफ्नो राय सहित प्रादेशिक समिति, उक्त समिति संग समान हैसियतको समिति वा त्यो भन्दा उपल्लो समितिमा पेश गर्नु पर्नेछ ।
ख) सकृय सदस्यताको आवेदन प्राप्त भए पछि माथि उल्लेखित संबन्धित अधिकार प्राप्त समितिले सम्बन्धित ब्यक्तिको आचरण, इतिहास, सक्रियता, इमान्दारीता, वैचारिक सैद्धान्तिक स्पष्टता, पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, जन आन्दोलन तथा पार्टीद्वारा सञ्चालित कार्यक्रमहरुमा खेलेको भूमिका, पार्टीमा कृयाशीलता र जिम्मेवारी वहनमा तत्परता, पार्टीको विधानको पालना एवं पार्टीको समितिमा रहँदा खेलेको भूमिका आदि पक्षलाई ध्यानमा राखी उचित छानबीन गरी सकृय सदस्यताको निम्ति केन्द्रिय समितिमा सिफारिश गर्नेछ । अन्याथा नभएमा उक्त सिफारिश बमोजिम केन्द्रिय समितिले निर्णय गर्नेछ ।
ग) यस सम्बन्धमा कुनै जटिलता उत्पन्न भएमा वा उजुरी परेमा केन्द्रीय समितिले गरेको निर्णय अन्तिम हुनेछ । सदस्यता प्रदान गर्ने अवधि र अन्य कतिपय आवश्यक प्रकृयाको केन्द्रीय समितिले ब्यवस्था गर्नेछ । केन्द्रमा सकृय सदस्यहरुको आधिकारिक अभिलेख राखिनेछ र प्रत्येक वर्ष यसलाई अद्यावधिक गरिनेछ ।
घ) सकृय सदस्यता तोकिएको रकम तिरी औपचारिक रुपमा लिखित शपथ ग्रहण गरेको मिति देखि लागू हुनेछ ।
३) सकृय सदस्यका अधिकार र कर्तब्यहरु
सकृय सदस्य कुनै पार्टी समितिमा अनिवार्य रुपमा संगठित हुनु पर्नेछ । सकृय सदस्यका अधिकार र कर्तब्य देहाय बमोजिम हुनेछन्
क) पार्टीको सभा सम्मेलन, भेला बैठकमा भाग लिने, पार्टी समितिमा संगठित हुने र सो समितिको बैठकमा स्वतन्त्रतापूर्वक मत ब्यक्त गर्ने
ख) सकृय सदस्यका लागि जारि गरिएका निर्देशन र निर्णयहरु प्राप्त गर्ने र तीनको पालना गर्ने, दस्तावेजहरु प्राप्त गर्ने अध्ययन गर्ने र यी सबैका बारेमा सम्बन्धित समितिमा आफ्नो मत जाहेर गर्ने
ग) तोकिएको प्रकृया बमोजिम बैठक, सम्मेलनमा चुन्ने, चुनिने र नीति निर्माण र कार्यन्वयनमा सहभागि हुने
घ) पार्टी समिति वा तोकिएको माध्यमद्वारा पार्टीको कृयाकलापहरु बारे सुझाव, टिप्पणी र आलोचना सम्बन्धित समितिमा पठाउने
ङ) पार्टीको सिद्धान्त, कार्यक्रम र नीति दृढतापूर्वक पालना गर्ने
च) पार्टी अनुशासनलाई दृढतापूर्वक पालना गर्दै पार्टीको एकता, गोपनियता र प्रतिष्ठालाई जोगाई राख्न कृयाशील रहने
छ) सकृय सदस्यको लागि तोकिएको सदस्यता शुल्क तथा स्वैछिक लेभि सम्बन्धित समितिलाई नियमित रुपमा बुझाउने
ज) आफ्नो कार्यको वार्षिक प्रतिवेदन आफू संगठित रहेको समितिमा बुझाउने
झ) पार्टीद्वारा आयोजित कार्यक्रमहरुमा भाग लिने, पार्टी विस्तार तथा सुदृढीकरणको निम्ति क्रियाशील रहने तथा पार्टीको प्रतिष्ठा अभिबृद्धि गर्ने काममा क्रियाशील रहने
ञ) जेल परेका, अशक्त र विशेष अवस्थामा रहेका बाहेक अन्य सबैले पार्टीमा सकृय भई जिम्मेवारी पालना गर्नु पर्ने
ट) तोकिएको समयमा सदस्यता नवीकरण गर्ने
४) सकृय सदस्यको स्थानान्तरण
सकृय सदस्यले आफ्नो सदस्यता समान हैसियतको पार्टीको कुनै पनि समितिमा स्थानान्तरण गर्न र पार्टीको कृयाकलापमा भाग लिन सक्नेछ । तर पार्टीको कुनै तहको सम्मेलनको मिति भन्दा ३ महिना अगाडी स्थानान्तरण नभएकाले संबन्धित समितिको निर्बाचनमा भाग लिन पाउने छैन । स्थानान्तरित सदस्यले संबन्धित समितिको निर्णय अनुसार स्थान पाउनेछ ।
धारा ८ सकृय सदस्यताको समाप्ती
देहायको अवस्थामा सकृय सदस्यता समाप्त हुनेछ ।
१) स्वेच्छाले सकृय सदस्यता त्याग गरेमा
२) अनुशासनको कारर्वाहीमा परी निष्काशित भएमा
३) पार्टीबाट अनुमति नलिइ निरन्तर ६ महिनासम्म आफ्नो कार्यक्षेत्रको पार्टी कामबाट अलग भइ बसेमा
४) कुनै पनि जनप्रतिनिधि मूलक संस्थाको निर्वाचनमा पार्टीको निर्णय विरुद्ध बिद्रोही उम्मेदवार बनेमा वा त्यस्तो उम्मेदवारको प्रस्तावक वा समर्थक बनेमा वा प्रचारक भै काम गरेमा
५) संघ (केन्द्र), प्रदेश वा स्थानीय तहका जनप्रतिनिधिमूलक संस्थामा पार्टी ह्वीप वा निर्णयको उल्लंघन गरेमा वा पार्टीलाई आघात पार्ने कुनै काम गरेमा
६) भ्रष्टाचार गरेमा, अनैतिक आचरण देखाएमा र भ्रष्ट तत्वसंग साँठगाँठ गरेको प्रमाणित भएमा
७) प्रचलित कानूनको विपरित हुने गरी सम्पत्ति आर्जन गरेको वा राखेको ठहरिएमा
८) तोकिएको समयमा सदस्यता नवीकरण नगराएमा
९) सकृय सदस्यले पालन गर्नुपर्ने भनी विधान वा नियमावलीमा गरिएको ब्यवस्था बमोजिमको कर्तब्य पुरा नगरेको प्रमाणित भएमा
१०) अन्य पार्टीमा संलग्न भएमा
धारा ९ पुनः सकृय सदस्यता प्राप्ती
राजीनामा दिएर वा अनुशासनको कारवाहीमा परेर वा अन्य कारणबाट सकृय सदस्यता समाप्त भएका ब्यक्तिले पुनः सदस्यता लिन चाहेमा देहायको प्रक्रियाबाट पुनः सदस्यता प्राप्त गर्न सक्नेछ ।
१) सकृय सदस्यता गुमाएका ब्यक्तिले पुनः सदस्यता प्राप्त गर्न चाहेमा पुन आबेदन फाराम भर्नु पर्नेछ ।
२) राजीनामा गरेर वा जिम्मेवारी पूरा गर्न नसकेर निष्कृय भएका कारण सकृय सदस्यता गुमाएका तर पार्टी प्रति बफादार रहेको ब्यक्तिले पुनः सदस्यता प्राप्त गर्न चाहेमा पुनः संगठीत भइ काम गरेको ३ महिना पछि पुनः सकृय सदस्यता प्राप्त गर्न सक्नेछ ।
३) अनुशासनको कार्वाहीमा परी सकृय सदस्यता गुमाएका वा बैचारिक राजनीतिक कारणबाट पार्टीबाट अलग भइ अन्य पार्टीमा सामेल भइ सकेका ब्यक्तिले आफ्नो गल्ती स्वीकार गरी आत्मालोचना गरेर पुनः पार्टीमा कृयाशील हुन चाहेमा सम्बन्धित प्रादेशिक समिति, सो सरहको समिति वा त्यो भन्दा माथिको समितिले उचित ठहराएमा पुनः संगठीत भइ काम गरेको ६ महिना पछि केन्द्रिय समितिले सकृय सदस्यता प्रदान गर्न सक्नेछ ।
धारा १० सदस्यता कायम रहने
१) आन्दोलनको क्रममा जेलमा परेका वा शारिरीक अवस्था कमजोर भएका ब्यक्तिहरु कुनै समितिमा नरहे पनि पार्टी प्रति निष्ठावान र आस्थावान रही रहँदासम्म निजको सदस्यता कायम रहनेछ ।
२) अनुशासनको कारबाहीमा परेर वा पार्टीको सम्पर्क बाहिर रहेका ब्यक्तिहरुले पुनः सदस्यता प्राप्त गर्न चाहेमा सम्बन्धित प्रादेशिक समिति, सो सरहको समिति वा त्यो भन्दा माथिल्लो समितिले उचित ठहराएमा निजको सदस्यता कायम गर्न सिफारिश गर्न सक्ने छ ।
धारा ११ शपथ ग्रहण
सकृय सदस्यता प्राप्त गर्ने र पार्टी समितिमा आवद्ध हुने प्रत्येक ब्यक्तिले अनुसूची २ मा उल्लेख भए वमोजिम आबद्ध समितिमा शपथ ग्रहण गर्नु पर्नेछ ।
अध्याय ३ पार्टी संरचना
धारा १२ पार्टी निकायहरु
१) पार्टी संचालनको निम्ति बिभिन्न तहमा बिभिन्न निकायहरु हुनेछन् । पार्टीको मुख्य संरचनामा संघ (केन्द)्र, प्रदेश, बिशेष, स्वयत्त वा संरक्षित क्षेत्र, जिल्ला, निर्बाचन क्षेत्र, गाउँ÷नगर, वडा र इकाई पार्टी निकायहरु हुनेछन् । प्रदेश तह भन्दा तलको पार्टी निकायहरुलाई स्थानीय तहको निकायहरु मानिएको छ । स्वयत्त वा संरक्षित क्षेत्र तहका निकायहरु समस्तरका निकायहरु हुन् ।
२) गाउँ÷नगर निकायहरु र निर्बाचन क्षेत्रीय निकायहरु आकारको आधारमा बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रीय निकाय मातहत हुनेछन् । स्वयत्त वा संरक्षित क्षेत्र निकायहरु तथा बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रिय निकाय अन्तरगत नपरेका निकायहरु प्रदेश निकाय अन्तरगत हुने छन् ।
३) गाउँ तथा नगर निकाय मुनि वडा र वडा मुनी इकाई निकायहरु हुने छन् ।
४) पार्टीको मुख्य निकाय बाहेक का सहायक निकायहरुको समकक्षता तोकिए बमोजिम हुने छ ।
धारा १३ मुख्य पार्टी निकायहरु
मुख्य पार्टी निकायहरु देहाय बमोजिम रहने छन् ।
१) केन्द्र देखि वडा तहसम्म रहेका पार्टी निकायहरु
क) संबन्धित तहको सम्मेलन
ख) संबन्धित तहको समिति
ग) आबश्यकता अनुसार बिभागहरु (संगठन, अर्थ, संचार, कृषि, बिद्युत, शिक्षा आदी) ः बिभागमा सम्बन्धित समितिको सदस्य अध्यक्ष हुनेछ । बाँकी ३ सदस्यहरु र सचीब समिति बाहिरबाट हुनेछन् । अध्यक्ष र सचीब मध्ये १ जना महिला हुनेछ । उपलब्ध भए सम्म समितिमा फरक क्लस्टरबाट सहभागिता गराइने छ । ५ जना समिति मध्ये कम्तिमा २ जना महिला हुने छन् । यसको गठन संबन्धित समितिले गर्नेछ ।
२) केन्द्रिय तहको थप पार्टी निकायहरु
क) सचिबालय
ख) स्थायी समिति
ग) केन्द्रीय भेला तथा सम्मेलनले गठन गरेका बिभिन्न आयोगहरु (अनुशासन, लेखा परिक्षण, निर्वाचन, बिधान आयोग आदि) ः आयोगमा समिति बाहिरको अध्यक्ष हुनेछ । बाँकी ३ सदस्यहरु र सचीब समिति बाहिरबाट हुनेछन् । अध्यक्ष र सचीब मध्ये १ जना महिला हुनेछ । उपलब्ध भए सम्म समितिमा फरक क्लस्टरबाट सहभागिता गराइने छ । ५ जना समिति मध्ये कम्तिमा २ जना महिला हुने छन् । यसको गठन संबन्धित समितिले गर्नेछ ।
३) इकाई तहको पार्टी निकायहरु
क) इकाई भेला
ख) इकाई समिति
धारा १४ सहायक संगठन निकायहरु, जनबर्गीय संगठन निकायहरु र स्वयत्त रणनीतिक संगठनहरु
१) सहायक संगठन निकायहरु राष्ट्रिय, जातीय तथा भाषिक, प्रबास (किरात प्रबासी समाज), संपर्क (पार्टी सम्पर्क समिति) आदि केन्द्रिय समितिले तोके बमोजिम हुनेछ । प्रबासको मुलुक, जनबर्गीय, जातीय निकायहरु आदिलाई केन्द्रिय समितिको सदस्यहरु मध्येबाट इन्चार्जहरु तोकि प्रत्यक्ष सुपरिभेक्षण गरिनेछ । कतिपय पार्टीको बिशिष्टता र स्थानिय बिशिष्टताको कारण सबै निकायहरुले मुख्य निकायहरुको जस्तै हुबहु नहुन सक्छन् । प्रबासमा प्रदेश, जिल्ला, गाउँ लगायतका संरचनाहरु नहुन सक्छन् । जातीय वा भाषिक निकायहरुमा बिशिष्टाता र आबश्यकता अनुसार तल्ला निकायहरु थपिन सक्छन् ।
२) स्वयम् सेबक र जनबर्गिय भातृ संगठनहरु भने आबश्यकता अनुसार भिन्नै बिधान बनाई सञ्चालन गरिनेछन् । त्यसरी नै भातृ संगठनहरु गाउँ तथा नगरमा नभै शैक्षिक संस्था तथा प्रतिष्ठानहरुमा हुन सक्छन् । यी सबै बिशिष्ट निकायहरुको स्तर निर्धारण पार्टी केन्द्रिय समितिले गर्नेछ । यी सबै सहायक संगठनहरुलाई ब्याबस्थापन गर्न पार्टीको केन्द्रिय सदस्यहरुलाई इन्चार्ज तोकिनेछन् ।
३) किरात पार्टी संग समान बिचार भएका बिभिन्न जातीय, क्षेत्रीय र राष्ट्रिय पार्टी तथा संगठनहरुको रणनीतिक मोर्चा बन्नेछ । किरात पार्टी र ती संगठनहरु बीच स्वयत्त अस्तित्व सहित रणनीतिक एकता कायम गरिनेछ । केन्द्रिय समितिहरुबीच सम्झौता गरी ती संघटक संगठनहरुको सदस्यहरुलाई उक्त रणनीतिक मोर्चाको सदस्यता प्रदान गरिनेछ । संघटक संगठनहरु रणनीतिक मोर्चाको बिधान, नीति तथा कार्यक्रमहरु संग नबाझिने गरी स्वयत्त ढंगले कार्य गर्न सक्नेछन् तर निर्बाचनमा सहभागी हुने तथा राज्य संचालन गतिबिधिमा संलग्न हुने भने रणनीतिक मोर्चाको मार्फत नै गर्नु पर्दछ ।
४) पार्टी भित्र स्वयत्त तथा सशक्त जातीय तथा भाषिक निकायहरु हुनेछन् । यी जातीय तथा भाषिक निकायहरु नै पार्टीलाई सर्बजातीय बिधि अनुसार अगाडी बढाउन उपयोगी हुनेछन् । यी संगठनहरुलाई संबन्धित जाती तथा भाषीहरुको बिशिष्ट मुद्घाहरुलाई पक्रनेछन् ।
५) यी बिभिन्न सहायक तथा भातृ संगठनहरुको काम कर्तब्य, अधिकार, समकक्षता आदि केन्द्रिय समितिले तोके बमोजिम हुनेछ ।
धारा १५ सम्मेलन प्रतिनिधिको चुनाब
१) इकाई भेलामा इकाई मातहतको सबै साधरण तथा सकृय सदस्यहरु इकाई भेला प्रतिनिधि तथा इकाई समितिको सदस्य हुनेछन् ।
२) वडा सम्मेलनमा मातहतका सबै साधरण तथा सकृय सदस्यहरु वडा सम्मेलन प्रतिनिधि हुनेछन् ।
३) वडा भन्दा माथिको सम्मेलनमा तोकिएको सर्बजातीय बिधि मुताबिक सम्मेलन प्रतिनिधि चुनिने छन् । कुन सम्मेलनमा कति प्रतिनिधि राख्ने भन्ने निर्णय संबन्धित समितिले गर्नेछ । त्यो संख्याको आधारमा सर्बजातीय बिधि प्रयोग गरी प्रत्येक जातीय क्लस्टरको प्रतिनिधिको संख्या निर्धारण गरिनेछ ।
४) सम्मेलन प्रतिनिधि मताहतको सकृय सदस्यहरुले जातीय क्लस्टरको अनुपातको आधारमा चुन्ने र चुनिनेछन् । तर गाउँ वा नगर सम्मेलन प्रतिनिधि भने साधरण सदस्यहरु समेत चुन्ने र चुनिनेछन् ।
५) कुनै तहको सम्मेलनमा कुनै जातीय क्लस्टरको सबै सदस्यहरुले संबन्धित जातीय क्लस्टरको सम्मेलन प्रतिनिधि उमेद्वारहरु मध्ये एक जनालाई मत हाल्ने छन् । मत हाल्दा महिलाले महिला र पुरुषले पुरुष उमेद्वारलाई मत हाल्नेछन् । यसरी मत हाल्दा बढिमतको आधारमा सम्मेलन प्रतिनिधिहरु चुनिनेछन् ।
६) यस प्रकारको चुनाबहरुलाई निर्बाचन आयोग र संबन्धित समितिहरुले बिभिन्न बिधि मार्फत पारदर्शि ढंगले सम्पन्न गर्नेछन् ।
७) पार्टीको बिभिन्न निकायहरुमा तोकिए अनुसारको जातीय क्लस्टरको अनुपात प्रयोग गर्न सकिन्छ । त्यस प्रकारको अनुपात संबन्धित निकाय मातहतका सदस्यहरुको क्लस्टरको अनुपातमा आधारित हुनु पर्दछ ।
धारा १६ सम्मेलन
१) केन्द्रिय सम्मेलनमा पार्टीको सम्पुर्ण अधिकार हुनेछ ।
२) केन्द्र र प्रदेश तहको सम्मेलनहरु संबन्धित समितिहरुद्धारा सामान्यतः ४ वर्ष ननाघ्ने गरी गर्नेछन् । त्यस भन्दा तल्लो तहका सम्मेलनहरु २ बर्ष ननाघ्ने गरी गरिनेछ । तर इकाई भेला भने आबश्यकता अनुसार २ बर्ष भन्दा कम अबधिमा पनि गर्न सकिनेछ ।
३) सम्मेलनको अधिकार र कर्तब्यहरु
क) सम्मेलन संचालन गर्न अध्यक्ष मण्डल गठन गर्ने र निर्बाचन मण्डल गठन गर्ने
ख) संबन्धित समितिको तर्फबाट प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तथा कार्ययोजनाहरु छलफल गरी पारित गर्ने
ग) सम्पुर्ण संबन्धित निकायहरु भंग गरी महिला र पुरुष आधि आधि हुने गरी सर्बजातीय बिधिद्वारा पुनः निर्बाचित गर्ने
घ) संबन्धित तहको कामको लागी आवश्यक पर्ने नीति र कार्यक्रम तर्जुमा गर्ने
ङ) संबन्धित निकायको सदस्य संख्या निर्धारण गर्ने
४) केन्द्रिय सम्मेलनको थप अधिकार र कर्तब्यहरु
क) पार्टीको वैचारिक, सैद्धान्तिक तथा कार्यक्रमिक दस्तावेज, बिधान र राजनीतिक प्रस्ताव पारित गर्ने र संसोधन गर्ने
ख) केन्द्रिय आयोग तथा बिभागहरुबाट प्राप्त प्रतिवेदन तथा कार्ययोजनाहरु छलफल गरी पारित गर्ने
ग) बिधान संसोधन तथा नियमावलीहरु पारित तथा संशोधन गर्ने
घ) केन्द्रिय समितिद्वारा प्रस्तुत आयोगहरुको प्रस्ताब अनुमोदन गर्ने
धारा १७ समिति
१) सबै समिति दुई सम्मेलन बीचको समयमा संबन्धित तहको सर्वोच्च संस्था हुनेछ । केन्द्रिय समिति बहेकका समितिहरु उपल्लो समिति प्रति उत्तरदायी हुनेछन् । त्यसै गरी सबै समितिहरु संबन्धित सम्मेलन प्रति उत्तरदायी रहनेछन् ।
२) सबै समितिहरुको अबधि संबन्धित २ सम्मेलनहरुको बीचको अबधि हुनेछ ।
३) सबै समितिको संख्या तथा पदहरु निर्बाचन आयोगले सिफारिस गरेको सर्बजातीय अनुपातमा संबन्धित सम्मेलनले तोके वमोजिम हुनेछ । पदाधिकारीहरुमा महिला र पुरुष आधि आधि हुनेछन् । सदस्यहरुमा सबै क्लस्टरबाट आधि संख्या महिला हुनेछन् । केन्द्रिय समितिमा भने सचिब र सहसचिब को सट्टा क्रमशः महासचिब र सचिब हुनेछन् । यी सबै पदाधिकारीहरु सम्मेलन प्रतिनिधिहरुले पपुलर मतको आधारमा चुन्नेछन् ।
४) सबै समितिको सदस्यहरुको निर्बाचन सर्बजातीय बिधि अनुसार प्रत्येक जातीय क्लस्टरको सम्मेलन प्रतिनिधिहरुबाट हुनेछ । समितिको पदाधिकारी तथा सदस्यहरुमा उम्मेद्वारी र निर्बाचनमा मत दिने अधिकार संबन्धित सम्मेलन प्रतिनिधिलाई मात्र हुनेछ । सम्मेलन प्रतिनिधि चुन्ने सर्बजातीय बिधि समितिको सदस्य चुन्न पनि प्रयोग गरिनेछ । एक प्रतिनीधिले एक सदस्यको निम्ति उम्मेद्वारी दिन सक्ने छ । सम्मेलन प्रतिनिधिहरुले आफ्नो जातीय क्लस्टर र लिंगको एक उम्मेद्वार लाई सदस्यमा भोट दिनेछन् । यसरी बढि मत ल्याउनेहरुबाट तोकिएको संख्यमा सदस्यहरु चुनिने छन् । यिनै चुनिएका सदस्यहरु मध्येबाट उनीहरुले नै पदाधिकारीहरु पपुलर मतको आधारमा लिंगिय रूपमा चुन्ने छन् । पदाधिकारीहरुमा महिला तथा पुरुषको अनुपात मिलाइने छ ।
५) समितिको अधिकार र कर्तब्यहरु
क) समितिका सदस्यहरुको जिम्मेवारी तोक्ने
ख) आवश्यकता अनुसार आफ्नो तहमा बिभिन्न जनकार्यहरु गर्ने
ग) सम्मेलनको निर्णयहरु योजना बनाई कार्यान्वयन गर्ने
घ) आफ्नो समितिको नियमित बैठक आयोजना गर्ने
ङ) सम्मेलन र समितिको बैठकमा पेश गर्न प्रस्ताब, प्रतिबेदन र कार्य योजनाहरु तयार गर्ने
च) आफ्नो तहको समान बिचर भएका अन्य पार्टीहरु संग सहकार्य गर्ने
छ) समिति मातहतका समितिहरुको मूल्यांकन तथा सुपरिवेक्षण गर्ने
ज) मातहतका समितिहरुबाट अनुशासनको कार्वाहीमा परेका ब्याक्ति तथा समितिको उजुरी तथा पुनराबेदन उपर बिधान अनुसार निर्णय दिने
झ) आवश्यकता अनुसार तोकिएको प्रक्रिया अनुरुप कुनै पनि ब्यक्तिलाई सकृय सदस्यता प्रदान गर्ने वा सिफारिस गर्ने
ञ) समितिका पदाधिकारीहरु र सदस्यहरुको वरियताक्रम निर्धारण गर्ने
ट) सचिवालय र कार्यालय संचालन गर्ने
ठ) मातहतका समितिलाई लेवी तोक्ने
ड) राजीनामा गरेर, निधन भएर वा अनुशासनको कार्वाहीमा परी कुनै सदस्यको पद रिक्त हुन आएमा सो पद पूर्ति गर्ने
ढ) आफ्नो तहबाट आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक गतिबिधिहरु संचालन गर्ने
ण) विधान तथा नियमावलीमा तोकिएका अन्य कार्यहरु गर्ने गराउने
त) आवश्यकता अनुसार आफ्नो तहमा विभाग, कार्यदल र नियमानुसारको पार्टीका संयन्त्रहरु गठन गर्ने र तिनिहरुको अधिकार र कर्तब्यहरु तोक्ने
थ) माथिल्लो समिति र आफ्ना तहको सम्मेलनको निर्णयहरु कार्यान्वयन गर्ने गराउने
द) आफ्नो तहको पार्टीको सामू उत्पन्न समस्याहरुमा निर्णय दिने
ध) पार्टीको प्रचार प्रसार सामाग्रीहरु उत्पादन र प्रकाशन गरी बिक्रि बितरण गर्ने
न) मतहतका समितिहरुको परिचालन, सुपरिवेक्षण र मूल्यांकन गर्ने
प) आफ्नो कार्य क्षेत्रमा कायकर्ताहरुको स्थानान्तरण गर्ने
फ) मातहतका अन्य पार्टी निकायहरुको कार्यहरुको सुपरिवेक्षण तथा मूल्यांकन गर्ने
ब) आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालन नगर्ने मातहतका समिति र सदस्यहरुलाई कार्वाही गर्ने
भ) आफ्नो समितिको लागि आर्थिक श्रोत परिचालन र कोष संचालन गर्ने
म) मातहतका समितिका पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षणको ब्यवस्था गर्ने
६) केन्द्रिय समितिको थप अधिकार र कर्तब्यहरु
क) केन्द्रिय समितिको सदस्यहरुको नेतृत्वमा बिषयगत बिभागहरु (संगठन, कृषि, बिद्युत, शिक्षा, अर्थ, संचार बिभाग आदि) गठन गर्ने, केन्द्रिय समितिको सदस्यहरुबाट सहायक संगठनहरु र भातृ संगठनहरुको इन्चर्ज तोक्ने र तिनिहरुको अधिकार र कर्तब्यहरु तोक्ने
ख) पार्टी सामू उत्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरु र समस्याहरुमा निर्णय दिने
ग) केन्द्रिय बिभाग तथा आयोगहरु लाई ब्याबस्थित गर्ने
घ) पार्टीको एकता, हित र सुरक्षा जस्ता विषयमा खलल पार्ने कुनै पनि मातहतका समितिका निर्णयलाई बदर गर्ने, जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालन नगर्ने समितिलाई विघटन गर्ने र सदस्यलाई कार्वाही गर्ने
ङ) अनुशासनको उल्लंघन गर्ने केन्द्रीय समिति सदस्यहरु माथि कार्वाही गर्ने
च) पार्टीको आाधारभूत सिद्धान्त, कार्यक्रम र नीतिसँग सहमत पार्टीहरुसंगको एकतालाई अगाडि बढाउन आवश्यक नीति तय गर्ने र पार्टीमा एकिकृत हुन चाहने विभिन्न पार्टीहरुसंग एकिकरण गर्ने
छ) पार्टीले अगाडी सारेका नीति र कार्यक्रमसंग सहमत पार्टी र शक्तिहरुसंगको कार्यगत एकता र संयुक्त मोर्चालाई अगाडि बढाउन आवश्यक निर्णय गर्ने
ज) आफु मध्येबाट एक जना प्रबक्ता छानी पार्टीको औपचारिक धारणालाई ब्याबस्थित तथा सार्बजानीक गर्ने
झ) रणनीतिक मोर्चाका स्वयत्त पार्टी तथा संगठनहरु संगको कार्यहरुलाई ब्याबस्थित गरी एकतालाई बजबुत पार्ने
धारा १८ स्थायी समिति
१) स्थायी समिति केन्द्रीय समितिको अंगको रुपमा रहनेछ । स्थायी समितिमा पार्टीका केन्द्रिय पदाधिकारीेहरु, केन्द्रिय प्रबक्ता र केन्द्रिय बिभागका अध्यक्षहरु रहने छन् ।
२) स्थायी समितिको अधिकार र कर्तब्यहरु देहाय बमोजिम हुनेछन्
क) केन्द्रीय समितिको बैठक नबसेको समयमा स्थायी समितिले राजनीतिक र पार्टी निर्णयहरु गर्ने र मातहतका समितिहरुलाई नेतृत्व प्रदान गर्ने
ख) स्थायी समितिले गरेका कामका लागि केन्द्रीय समिति प्रति उत्तरदायी हुने
ग) केन्द्रीय समितिबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने
घ) आफूले गरेका निर्णय तथा कार्यहरु अनुमोदनका निम्ति केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने
ङ) केन्द्रीय समितिले तोकेका अन्य कार्यहरु गर्ने
धारा १९ केन्द्रीय सचिवालय
१) केन्द्रीय सचिवालयमा पार्टीका केन्द्रिय पदाधिकारीहरु रहने छन् ।
२) केन्द्रीय सचिवालयको अधिकार र कर्तब्यहरु
क) केन्द्रीय समिति वा स्थायी समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने
ख) केन्द्रीय कार्यालय संचालन गर्ने
ग) केन्द्रीयस्तरबाट तयार गर्नु पर्ने कार्ययोजना वा कार्यक्रम तर्जुमा गर्ने
घ) समसामयिक विषयहरुमा पार्टीको विचार वा दृष्टिकोण सार्वजनिक रुपमा राख्न आवश्यक भए सो कार्य गर्ने
ङ) सचिवालयले गर्नु पर्ने भनी केन्द्रीय समिति वा स्थायी समितिले तोकेका अन्य कार्यहरु गर्ने
धारा २० समितिका पदाधिकारी र सदस्यहरुको अधिकार र कर्तब्यहरु
बिभिन्न समितिहरुको पादाधिकारी र सदस्यहरुको अधिकार र कर्तब्यहरु आआफ्नो तहमा देहाय बामोजिम हुनेछन् ।
१) अध्यक्षको अधिकार र कर्तब्यहरु
क) सम्मेलन र समितिका नीति निर्देशन र निर्णयहरुको कार्यान्वयनमा प्रमुख नेताको रुपमा नेतृत्व प्रदान गर्ने
ख) कार्ययोजना तयार गरी समितिमा प्रस्तुत गर्ने
ग) समितिको बैठकहरुको अध्यक्षता गर्ने
घ) मातहतका निकायहरु र समितिको तहबाट सम्पन्न हुने कामहरुको नेतृत्व, निरिक्षण र अनुगमन गर्ने
ङ) समितिको बैठकका निर्णयहरु प्रमाणित गर्ने
च) विधान तथा नियमावली अन्तर्गत रही अन्य आवश्यक कार्यहरु गर्ने
२) केन्द्रिय अध्यक्षको थप अधिकार र कर्तब्यहरु
क) कार्ययोजना तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने
ख) स्थायी समितिको बैठकहरुको अध्यक्षता गर्ने
ग) मुख्य प्रवक्ताको रुपमा पार्टीको प्रतिनिधित्व गर्ने तथा आवश्यकता परे पार्टीको सदस्यहरु मध्येवाट केन्द्रिय समितिको निर्णयमा प्रवक्ता तोक्ने
घ) पार्टीको तर्फवाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने र गर्न लगाउने
ङ) पार्टी सामु तत्काल आइपरेका कार्यहरु गर्ने र त्यसको जानकारी केन्द्रीय समितिलाई गराई अनुमोदन गराउने
च) स्थायी समिति बैठकका निर्णयहरु प्रमाणित गर्ने
छ) पार्टीको केन्द्रीय निकायहरुद्वारा भएका निर्णयहरुको कार्यान्वयन भए नभएको रेखदेख गर्ने र गर्न लगाउने
३) उपाध्यक्षको अधिकार र कर्तब्यहरु
क) अध्यक्षलाई सहयोग गर्ने र अध्यक्षको अनुपस्थितिमा अध्यक्षका अधिकार र कर्तब्यहरुको प्रयोग र पालना गर्ने
ख) संबन्धित समितिले दिएको जिम्मेवारी र अध्यक्षले प्रत्यायोजन गरेका कामहरु गर्ने
ग) संबन्धित समितिले तोकेका अन्य कामहरु गर्ने
४) सचिव (केन्द्रिय समितिको हकमा महासचिब) को अधिकार र कर्तव्यहरु
क) अध्यक्षको परामर्शमा समितिको बैठक बोलाउने र तिनको कार्यसूचि निर्धारण गर्ने
ख) कार्यालय रेखदेख र संचालन गर्ने तथा सवै प्रकारका आधिकारिक अभिलेखहरुको संरक्षण गर्ने र गर्न लगाउने
ग) दैनिक कार्य सञ्चालनमा अध्यक्षलाई सहयोग गर्ने र महत्वपूर्ण विषयमा जानकारी दिने
घ) समितिको तर्पmवाट आवश्यक कार्ययोजना बनाई बैठकमा प्रस्तुत गर्ने
च) पार्टीको पार्टी संरचना दुरुस्त, कृयाशील र प्रभावकारी वनाउने, आवश्यकता अनुसार सूचना प्रवाह गर्ने, समितिका सदस्यहरुको कामको अनुगमन गर्ने
छ) विधान तथा नियमावली अन्तर्गत रही अन्य आवश्यक कार्यहरु गर्ने
५) महासचिबको थप अधिकार र कर्तब्यहरु
क) अध्यक्षको परामर्शमा स्थायी समितिको बैठक बोलाउने र तिनको कार्यसूचि निर्धारण गर्ने
ख) पार्टीको काममा केन्द्रिय अध्यक्षको परामर्शमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने र प्रतिनिधि खटाउने
६) सहसचिव (केन्द्रिय समितिको हकमा सचिब) को अधिकार र कर्तब्यहरु
क) सचिव लाई सचिवालयीय काममा सहयोग गर्ने
ख) सचिबको अनुपस्थितिमा सचिबको अधिकार र कर्तब्यहरुको प्रयोग र पालना गर्ने
ग) समितिले दिएको जिम्मेवारी र सचिवले प्रत्यायोजन गरेका कामहरु गर्ने
घ) कार्यालय संचालन गर्नेे
७) कोषाध्यक्षका अधिकार र कर्तब्यहरु
क) आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्ने र कोष संचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने
ख) सम्मेलन र समितिहरुको बैठकमा आय व्यायको विवरण पेश गर्ने
ग) पार्टीको आय ब्यायको हिसाव, भौतिक सम्पति र जिन्सी सामानको लगत दुरुस्त राख्ने
घ) बार्षिक खर्च र आम्दानीको बजेट तर्जुमा गर्ने
ङ) समितिले निर्णय गरेको अनुसार बैंकमा पार्टीको नाममा खाता खोल्ने र निर्णयानुसार खाता सञ्चालन गर्ने
च) पार्टीको लेखा राख्ने र लेखा परीक्षण गराउने
छ) समितिले तोकेका अन्य काम गर्ने
६) सदस्यहरुका अधिकार र कर्तब्यहरु
क) समितिले दिएको जिम्मेवारी वहन गर्ने
ख) आपूmले प्राप्त गरेका कामको क्षेत्रमा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने
ग) पार्टीको मातहतको निकायहरु र समितिहरुसंग सम्पर्क र कार्यालयीय ब्यवस्थापनको अनुगमन गर्ने
धारा २१ अनुशासन आयोग
१) अनुशासन अयोगमा अध्यक्ष, सचिब र ३ सदस्यहरु रहनेछन् । आयोगको सदस्यहरुको मर्यादा केन्द्रीय समितिका सदस्य सरह हुनेछ ।
२) अनुशासन आयोगको अधिकार र कर्तब्य देहाय बमोजिम हुनेछन्
क) केन्द्रिय सम्मेलन प्रति उत्तरदायी रहने
ख) अध्यक्षको परामर्शमा सचिवले बैठक बोलाउने र संचालन गर्ने
ग) विधान विपरित भए गरिएका सबै कार्यहरु अनुशासनात्मक कार्वाहिका विषय मानि अनुसन्धान गरी कार्यबाही गर्ने
घ) केन्द्रीय समितिले अनुशासन संग सम्वन्धित भनी पठाएका कामहरुको कार्य सम्पादन गर्ने र अनुसन्धानको क्रममा गम्भीर आरोपको प्रमाण फेला परेमा केन्द्रीय समितिका सदस्यको हकमा फेला परेका तथ्य प्रमाणका आधारमा राय ठहर सहितको प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गर्ने र प्रदेश समिति र स्थानीय समितिको हकमा सम्वन्धित समितिमा पठाइ सोको लिखित जानकारी केन्द्रीय समितिलाई दिने
ङ) केन्द्रीय तथा अन्य समितिबाट अनुशासनको कार्वाहीमा परी चित्त नबुझेका सकृय सदस्य वा समितिले दिएका लिखित उजुरी ग्रहण गर्ने, त्यस उपर पुनरावलोकन गर्ने र विधान तथा नियम अनुरुप फैसला दिने
च) अनुशासन सम्बन्धी कार्वाही माथि गरिएको हरेक निर्णयको सरोकारवाला ब्यक्ति वा समितिलाई सबै किसिमका निर्णयहरुको लिखित जानकारी दिने
छ) पार्टीको केन्द्रिय तथा प्रदेश अध्यक्ष लगायत सवै पदाधिकारीहरु र केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरुको सम्पत्तिको विवरण निजी फाइल राखी नियमित रुपमा प्राप्त सामाग्रीको आधारमा अद्यावधिक गर्ने र प्रत्येक वर्ष उक्त फाइलको जानकारी केन्द्रीय समितिलाई गराउने
ज) विभिन्न सार्वजनिक पदमा निर्वाचित र नियुक्त भएकाहरुको सम्बन्धमा नियुक्ती हुँदा र अवकाश पाउँदाको अवस्थामा सम्पत्तिको विवरण लिने र जाँच गर्ने
झ) पार्टीको नेता कार्यकर्ताहरुको सम्वन्धमा नैतिक आचरण बारे उठेका प्रश्नहरुको छानविन गर्ने
ञ) आफ्नो आयोगको सदस्यहरु माथि अनुशासनको कारवाही गर्ने तथा सदस्यहरुको राजिनामा स्वीकृत गर्ने
ट) आफ्नो काम कारवाहीको प्रतिवेदन केन्द्रिय सम्मेलनमा प्रस्तुत गर्ने
धारा २२ लेखा परिक्षण आयोग
१) लेखा परिक्षण अयोगमा अध्यक्ष, सचिब र ३ सदस्यहरु रहनेछन् । आयोगको सदस्यहरुको मर्यादा केन्द्रीय समितिका सदस्य सरह हुनेछ ।
२) आयोगकोे अधिकार र कर्तब्य देहाय बमोजिम हुनेछन् ।
क) केन्द्रिय सम्मेलन प्रति उत्तरदायी रहने
ख) अध्यक्षको परामर्शमा सचिवले बैठक बोलाउने र संचालन गर्ने
ग) लेखा सम्बन्धी मान्यता अनुसार केन्द्रीय समितिको आय ब्यायको नियमितता, प्रभावकारीता र औचित्य समेत हेरी वार्षिक लेखा परिक्षण गर्ने र यसको निम्ति आवश्यक नियम बनाउने
घ) लेखा परिक्षणको निम्ति आवश्यक सबै कागजपत्र हेर्ने, जानकारी प्राप्त गर्ने र लेखा परिक्षण सम्बन्धी कार्य सम्पादन गर्ने
ङ) लेखा सम्बन्धमा केन्द्रीय समितिबाट माग भई आएको सल्लाह दिने र वार्षिक लेखा परिक्षण प्रतिवेदन केन्द्रीय समितिमा पठाउने
च) तल्लो निकायहरुलाई लेखा परिक्षण सम्बन्धि सहयोग गर्ने
छ) आफ्नो आयोगको सदस्यमाथि अनुशासनात्मक कार्वाही गर्ने तथा राजीनामा स्वीकृत गर्ने
ज) आफ्नो सम्पूर्ण कामको प्रतिवेदन केन्द्रिय सम्मेलनमा प्रस्तुत गर्ने
झ) आबश्यकता अनुसार दर्तावाल लेखा परिक्षकबाट लेखा परिक्षण गराउने
धारा २३ निर्वाचन आयोग
१) निर्वाचन अयोगमा अध्यक्ष, सचिब र ३ सदस्यहरु रहनेछन् । आयोगको सदस्यहरुको मर्यादा केन्द्रीय समितिका सदस्य सरह हुनेछ ।
२) आयोगकोे अधिकार र कर्तब्य देहाय बमोजिम हुनेछन् ।
क) केन्द्रिय सम्मेलन प्रति उत्तरदायी रहने
ख) अध्यक्षको परामर्शमा सचिवले बैठक बोलाउने र संचालन गर्ने
ग) पार्टीको आन्तरिक निर्वाचन कार्यलाई पूर्ण लोकतान्त्रिक, स्वच्छ र निष्पक्ष ढंगले सम्पादन गर्ने
घ) पार्टीको निर्वाचन सम्बन्धी सर्बजातीय र सहभागितात्मक बिधिको आधारमा नियमावली निर्माण गरी कार्यान्वयन गर्ने
ङ) केन्द्रिय सम्मेलन प्रतिनिधि निर्बाचित गर्ने तथा केन्द्रीय समिति र केन्द्रीय निकायका पदाधिकारी एवम् सदस्यहरुको निर्वाचन गर्न सहयोग गर्ने
च) प्रदेश र स्थानीय समितिका पदाधिकारी एवम् सदस्यहरु तथा प्रदेश तथा स्थानीय सम्मेलन प्रतिनिधिहरु को निर्वाचन गर्ने काममा सघाउने
छ) आफ्नो आयोगको सदस्यहरु माथि अनुशासनात्मक कार्वाही गर्ने तथा राजीनामा स्वीकृत गर्ने
ज) आफ्नो सम्पूर्ण कामको प्रतिवेदन केन्द्रिय सम्मेलनमा प्रस्तुत गर्ने
धारा २४ बिधान आयोग
१) बिधान अयोगमा अध्यक्ष, सचिब र ३ सदस्यहरु रहनेछन् । आयोगको सदस्यहरुको मर्यादा केन्द्रीय समितिका सदस्य सरह हुनेछ ।
२) आयोगकोे अधिकार र कर्तब्य देहाय बमोजिम हुनेछन् ।
क) केन्द्रिय सम्मेलन प्रति उत्तरदायी रहने
ख) अध्यक्षको परामर्शमा सचिवले बैठक बोलाउने र संचालन गर्ने
ग) पार्टीको आन्तरिक संगठनमा बिधान तथा नियमावली लागु भए नभएको अनुगमन गर्ने
घ) बिधान तथा नियमहरुको ब्याख्या गर्ने र बिधान संसोधन तथा नियमावली निर्माणमा केन्द्रिय समितिलाई सहयोग गर्ने
ङ) बिधान तथा नियमहरुको बिबादमा निर्णय दिने र सामान्य बिधान तथा नियम उल्लंघनको घट्ना बारे संबन्धित समिति र सदस्यहरुलाई सचेत गराउने
च) गम्भीर प्रकारको बिधान तथा नियम उल्लंघनको घट्नालाई अनुशासनात्मक कारबाहीको निम्ति अनुशासन आयोगलाई सिफारिस गर्ने
छ) आफ्नो आयोगको सदस्यहरु माथि अनुशासनात्मक कार्वाही गर्ने तथा राजीनामा स्वीकृत गर्ने
ज) आफ्नो सम्पूर्ण कामको प्रतिवेदन केन्द्रिय सम्मेलनमा प्रस्तुत गर्ने
अध्याय ४ सम्मेलन, बैठक र विशेष अबस्था
धारा २५ विभिन्न तहको सम्मेलन
१) सामान्यतः पार्टीको केन्द्रिय र प्रदेश तहको सम्मेलन ४ बर्षको अन्तरालमा हुनेछन् । स्वयत्त तथा संरक्षित क्षेत्र, जिल्ला, गाउँ÷नगर तथा वडा तहको सम्मेलन २ बर्षको अन्तरालमा हुनेछन् । इकाई तहको भेला भने स्थानीय आबश्यकता अनुसार गरिनेछ । तर विशेष अवस्थामा भने निश्चित समय भन्दा अघि वा पछि पनि सम्मेलन तथा भेलाहरु हुन सक्नेछन् ।
२) सबै प्रकारको सम्मेलनको प्रतिनिधीहरु सर्बजातीय र सहभागितात्मक बिधि मुताबिक निर्बाचित हुनेछन् ।
३) सम्मेलनको सबै जातीय क्लस्टरबाट महिला तथा पुरुष सदस्य संख्याको अनुपातमा प्रतिनीधि हुनेछन् ।
४) सवै तहको सम्मेलन संचालन गर्न सम्मेलनले जातीय क्लस्टरको सन्तुलन मिलाई अध्यक्ष मण्डल र आवश्यक संयन्त्रहरु गठन गर्नेछ । सम्मेलनले आवश्यक ठानेमा अध्यक्ष मण्डलको सहयोगको लागि निर्वाचन मण्डल गठन गर्न सक्नेछ ।
५) सबै तहको सम्मेलनले सम्मेलन सुरु भए पछि आफ्नो मातहतका सबै निकायहरु बिघटन गर्नेछन् ।
६) सबै सम्मेलनहरुले प्रतिवेदन र प्रस्तावहरु पारित गर्ने, बिधान अनुसार आफ्नो निकायहरुको नियम बनाउने, समग्र कामको मूल्यांकन गर्ने र आगामी कामको योजना बनाउने छन् ।
७) केन्द्रिय सम्मेलनले भने पार्टीको बिधान संसोधन गर्न सक्नेछ ।
८) सबै सम्मेलनले सर्बजातीय तथा सहभागितात्मक बिधि मुताबिक आफ्नो निकायहरु निर्बाचित गर्नेछन् ।
९) सहायक र भातृ संगठनका सम्मेलनहरु पार्टीको स्तर अनुसार गरिनेछ ।
धारा २६ बैठक
१) सामान्यतः बैठकहरु निम्न अबधिमा हुनेछन् ।
क) केन्द्रिय र प्रदेश समितिको ६ महिनामा
ख) स्वयत्त तथा संरक्षित क्षेत्र र जिल्ला समितिको ३ महिनामा
ग) स्थायी समितिको १ महिनामा र केन्द्रीय सचिवालय, केन्द्रीय अयोग तथा विभागहरुको वैठक आवश्यकता अनुसार तोकिए बमोजिम
घ) गाउँ÷नगर, वडा र इकाई समितिहरुको बैठक १ महिनामा
ङ) सहायक र भातृ संगठनका बैठकहरु पार्टीको स्तर अनुसार गरिनेछ ।
३) तर कुनै पनि निकायका २५ प्रतिशत वा त्यो भन्दा बढि बहालवाला सदस्यहरु (पदाधिकारीहरु समेत) ले बैठक बोलाउन माग गरेको खण्डमा अध्यक्षले १५ दिनभित्र संबन्धित निकायको वैठक वोलाउनु पर्नेछ ।
४) लगातार तीन पटकसम्म निकायको बैठकमा विना सूचना अनुपस्थित रहेमा त्यस्ता निकायका सदस्यहरु माथि अनुशासनको कारवाहीको प्रकृया शुरु गरिनेछ ।
धारा २७ विशेष केन्द्रिय सम्मेलन
केन्द्रिय समिति वा निकायले आवश्यक ठानेमा वा ठोस कार्यसूची र कारण दर्शाइ एक तिहाइ वा त्यो भन्दा बढि बहालवाला केन्द्रिय सदस्यहरु (पदाधिकारीहरु समेत) ले लिखित रुपमा माग गरेको खण्डमा मागपत्र दर्ता गरेको मितिले ६ महिना भित्र केन्द्रीय समितिले विशेष केन्द्रिय सम्मेलन आयोजना गर्नु पर्नेछ ।
धारा २८ विशेष अवस्था
कुनै कारणवश केन्द्रिय सम्मेलनले चुनेको केन्द्रीय समितिका ५० प्रतिशत भन्दा बढि सदस्य संख्याको पद खाली भएमा केन्द्रीय समिति स्वतः विघटन हुनेछ । यो अवस्था पार्टीको विशेष अवस्था हुनेछ । यस्तो अवस्थामा बाँकी सदस्यहरुले केन्द्रिय सदस्यहरुले बैठक बोलाउने छ र बैठकले केन्द्रीय समिति निर्माण गर्नेछ । यो समितिले केन्द्रीय समितिको सम्पूर्ण अधिकार र कर्तब्यहरु प्रयोग गरी पार्टी संचालन गर्नेछ । यसले ६ महिनाभित्र केन्द्रिय सम्मेलनको आयोजना गरी केन्द्रीय निकायहरु निर्माण गर्नेछ ।
धारा २९ गणपुरक संख्या र पार्टी निर्णय
१) पार्टीको सम्मेलन र सवै निकायहरु बैठकको लागि पचास प्रतिशत भन्दा वढी सदस्यको उपस्थितिलाई गणपूरक संख्या मानिनेछ । निर्णय गर्न उपस्थित सदस्यको ५० प्रतिसत भन्दा बढि मत हुनु पर्दछ ।
२) सम्मेलन र बैठकमा सबै विषय माथि सहभागितात्मक तरिकाले छलफल हुनेछ । हरेक विषयमा सर्बसम्मत बनाउने प्रयत्न हुनेछ । तर मत विभाजन भएमा बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ । फरक मतमा परेको विचार अर्को सम्मेलन र बैठकसम्म सुरक्षित रहनेछ । तबसम्म अल्पमतले बहुमतको विचारलाई कार्यान्वयनमा लानु पर्नेछ ।
३) केन्द्रिय समितिले उचित ठानेको खण्डमा फरक मतको बिचारलाई नियम अनुसार पार्टीको सबै तहहरुमा छलफल र रायको निम्ति पठाउन सक्नेछ ।
४) केन्द्रिय समितिले बिशेष परिस्थितिमा पार्टी भित्रको फरक मतलाई सार्बजानीक छलफलको निम्ति नियम अनुसार बाहिर लानेछ ।
अध्याय ५ संसद र सरकार
धारा ३० संसद र सरकार
प्रतिनिधि सभा, राष्ट्रिय सभा, सरकार, प्रदेश सभा र सबै स्थानीय सरकार पार्टीको कामको एउटा क्षेत्र हुनेछ । पार्टीले यसमा आफ्ना कार्यकर्ताहरु पठाई जनकार्य संचालन गर्नेछ । यस प्रकारको जनप्रतिनिधि तथा सरकारका सदस्यहरु नियम अनुसार सर्बजातीय तथा सहभागितात्मक बिधिबाट पार्टीको मातहतको सकृय सदस्यहरुबाट निर्बाचीत गरिनेछन् ।
धारा ३१ संचालन विधि
१) पार्टीबाट निर्वाचनमा विजयी भएका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु समावेस भएको एक संसदीय दल हुनेछ । प्रदेशमा पनि प्रदेश सभासदहरु रहेको संसदीय दल हुनेछ । केन्द्र र प्रदेशमा संसदीय दलको कार्यसमिति (वोर्ड) हुनेछ । संसदिय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक तथा तोकिएका संख्यामा सदस्यहरु रहने गरी संसदीय दलको कार्यसमिति हुने छ ।
२) संसदीय दलले वनाएको नियमावली केन्द्रीय समितिबाट अनुमोदित भएपछि लागू हुनेछ । नियमावली अनुरुप संसदीय दलको काम कार्वाही संचालित हुनेछन् ।
३) पार्टीको संसदीय दललाई पार्टीको नीति कार्यक्रम अनुरुप नेतृत्व प्रदान गर्न केन्द्रीय समितिले संसदीय विभाग गठन गर्नेछ । पार्टीको तर्फबाट संसदीय दललाई परिचालन गर्ने जिम्मेवारी संसदीय विभागको हुनेछ ।
४) पार्टीको तर्फबाट सरकार तथा राजनीतिक पदहरुमा नियुक्त भएको अबस्थामा कामलाई ब्याबस्थित गर्न कार्यपालिका बिभाग गठन गर्न सकिनेछ ।
४) प्रतिनिधि सभामा निर्वाचित पार्टीको सांसदहरुले केन्द्रीय समितिले तोकेको विशिष्ट जिम्मेवारी बाहेक अन्य अवस्थामा आफू निर्वाचित भएको क्षेत्रमा कार्यरत रहनु पर्नेछ ।
५) पार्टीको तर्फबाट विजयी हुने स्थानीय निकायका निर्वाचित प्रतिनिधहरुलाई पार्टीको नीति तथा कार्यक्रम अनुसार मार्गदर्शन र नेतृत्व प्रदान गर्न केन्द्रीय समितिले स्थानीय निकाय विभागको गठन गर्नेछ ।
६) केन्द्र, प्रदेश तथा स्थानीय निकायमा कार्यरत पार्टी प्रतिनिधिहरुलाई नेतृत्व प्रदान गर्न सम्बन्धित तहको पार्टीले उपयुक्त किसिमको संयन्त्रको निर्माण गर्न सक्नेछ ।
७) पार्टीको सांसद र स्थानीय निकायका प्रतिनिधिहरु पार्टी र जनता प्रति उत्तरदायी हुनेछन् ।
अध्याय ६ भातृ संगठन
धारा ३२ भातृ संगठनको निर्माण र सञ्चालन
१) पार्टीले आबश्यक ठानेको खण्डमा आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति सिद्धान्त र कार्यक्रमको कार्यान्वयनका लागि र पार्टी विस्तार र कामको अनुकुलताका लागि विभिन्न वर्ग, पेशा र समुदायहरुमा जन संगठनहरु निर्माण र सञ्चालन गर्नेछ । पार्टीले निर्माण गरेका यस्ता जन संगठनहरु पार्टीको भातृ संगठनहरु हुन् । यस्ता सबै भातृ संगठनहरु पार्टीको बैचारिक र राजनैतिक दिशा निर्देशनको आधारमा संचालन गरिनेछन् । तर संगठनात्मक क्षेत्रमा भने भातृ संगठनहरु स्वायत्त र आफ्नै विधान अनुरुप चल्न स्वतन्त्र हुनेछन् । पार्टीको १८ बर्ष देखि ३५ बर्ष सम्मका युबाहरु सम्मिलित एक सशक्त स्वयम् सेबक संगठन गठन गरिनेछ ।
२) प्रत्येक भातृ संगठनले आप्mनो विधान अनुरुप लोकतान्त्रिक ढंगले बिभिन्न तहको सम्मेलन गरी आप्mनो नेतृत्व चयन गर्नु पर्नेछ । यसको संगठनात्मक संरचना र गठन बिधिहरु मुख्य पार्टीको ढाँचामा नै हुनेछ ।
३) पार्टीले देश र जनताको हितको पक्षमा हुन सक्ने समाजमा स्थापित अनेक प्रकारका संध संस्थाहरु वा आफैले त्यस्ता संघ संस्थाहरु स्थापित गरी तिनलाई जनहित र अग्रगतिका लागि सहयोगी हुन प्ररित गर्ने र तिनिहरुसंग सुसम्बन्ध कायम गरी त्यस्ता संस्थालाई असल उद्देश्यमा प्रयोग गर्न तिनमा कार्यरत पार्टीका कार्यकर्ताहरुको पंक्ति निर्माण गरी तिनको विधान र नियमावली अनुरुप संचालन गर्न सक्नेछ ।
धारा ३३ पार्टी संयन्त्र
भातृ संगठन तथा संघ संस्थाहरुलाई पार्टी नीति अनुरुप संचालन गर्न विभिन्न तहमा पार्टी संयन्त्रहरु वनाइनेछ । यस्ता संयन्त्रहरुमा भातृ संगठनका पदाधिकारीहरु र पार्टीका आवश्यक व्यक्तिहरु रहनेछन् । त्यस्तो संयन्त्रहरुलाई सम्बन्धित तहको पार्टी समितिले संचालन गर्नेछ । त्यस्तो संयन्त्रहरुलाई पार्टीले गठन पुर्नगठन गर्न सक्नेछ । ती भातृ संगठनहरुमा पार्टीले आफ्नो नीति र विचारहरुको कार्यान्वयन पार्टी संयन्त्र मार्फत लागु गर्नेछ । यस्ता पार्टी संयन्त्रहरुको नेतृत्व समितिबाट खटिएका संबन्धित इन्चार्जहरुले गर्नेछन् ।
अध्याय ७ सहभागितात्मकता र अनुशासन
धारा ३४ सहभागितात्मकता
१) कुनै पनि मातहत समितिले माथिल्लो समितिको वा सदस्यले समितिको निर्णय र विचार प्रति आफ्नो समितिमा असहमती प्रकट गर्न पाउने र मौखिक वा लिखित रुपमा आलोचना गर्न पाउने छन् । तर हरेक सदस्य वा समितिले सम्बन्धित माथिल्लो समिति वा समितिको बहुमतले गरेको निर्णय कार्यान्वयनमा लानु पर्दछ ।
२) कुनै पनि सदस्यले विधानको अधिनमा रही आफ्नो फरक मत राख्न पाउनेछ । केन्द्रिय समिति भित्र राष्ट्रि«य महत्वका विषयहरुमा गंभीर प्रकृतिको मतभिन्नता उत्पन्न भई फरक मतकर्ताले पार्टीव्यापी छलफल गर्न चाहेमा केन्द्रीय समितिको निर्णयमा निर्धारित प्रकृया अनुरुप निश्चित तहसम्म छलफलमा लान सकिनेछ ।
३) समितिको निर्णय पुस्तिकामा दर्ज गरिएका वा लिखित रुपमा सम्बन्धित समितिमा प्रस्तुत गरिएको अवस्थामा मात्र फरक मत मानिनेछ । फरक मतका कारणले कसै प्रति भेदभाव गरिने छैन । तर फरक मत राख्नेको आफ्नो पदीय वा पार्टी दायित्व भने निर्वाह गरिरहनु पर्नेछ । बहुमतले अल्पमतको कदर गर्नु पर्दछ ।
४) केन्द्रिय सम्मेलनले गरेका फैसलाहरु विपरित वा ती फैसलासंग असहमतिका विषयहरुलाई अर्को केन्द्रिय सम्मेलनको समयमा तोकिएको प्रक्रियाद्धारा उठाउन पाइनेछ । त्यस्ता असहमति निर्धारित प्रकृया अनुरुप केन्द्रिय सम्मेलनमा प्रस्तुत गर्न सकिनेछ ।
५) पार्टीको नीति तथा योजना निर्माण, कार्यन्वयन, अनुगमन तथा नेतृत्व चयनमा आम सदस्यहरुलाई सहभागिता गराई सहभागितात्मकताको सुनिस्चितता गराईने छ ।
६) नेतृत्व माथिबाट छान्ने होइन तलबाट चुन्ने बिधिबाट निर्बाचीत गरिनेछ । निश्चित बिधि प्रयोग गरी चुन्ने निकायले नेतृत्वलाई फिर्ता बोलाई नयाँ नेतृत्व चुन्न सक्दछ ।
७) गुटबन्दीलाई अनुशासनात्मक कारबाहीको बिषय बस्तु बनाइने छ । आन्तरिक निर्बाचनमा प्यानल उम्मेद्वारी दिन पाइने छैन । एकल उमेद्वार दिनु पर्दछ । सकृय सदस्यले जुनसुकै तह र पदमा तोकिए बमोजिम उम्मेद्वारी दिन सक्नेछ । कुनै पनि उम्मेद्वारको प्रचार र भोट माग्न उ आफैंले मात्र पाउने छ । अन्य सदस्यहरुले प्रचार प्रसार गर्न पाइने छैन । आचार संहिता भन्दा बाहिर गएर भड्किलो प्रचार गर्न पाइने छैन ।
धारा ३५ अनुशासनको कारवाही
१) निम्न अवस्थामा कुनै पनि सदस्य वा समितिहरुलाई अनुशासनको कार्वाही हुन सक्नेछ । यस्तो कारवाही गर्दा गल्तीको गम्भीरता हेरी कुनै पनि कारवाहीका रुपहरुको प्रयोग गर्न सकिनेछ । विशेष परिस्थितिमा केन्द्रिय समितिले तोकिएको प्रक्रियाको अधिनस्थ रही कुनै पनि सदस्य र समिति उपर कारवाही गर्न सक्नेछ ।
क) पार्टीको वैधानिक ब्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा
ख) पार्टीको निर्णय नमानी खुल्ला उल्लंघन गरेको प्रमाणित भएमा
ग) पार्टी प्रति निष्ठा र विश्वास नरहेको प्रमाणित भएमा
घ) पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा
ङ) गलत उद्देश्यले पार्टीको गोपनियता भंग गरेमा
च) पार्टीद्धारा संचालित आन्दोलनको विपक्षमा रहेमा वा आन्दोलन विराधीहरुसंग साँठगाँठ गरेमा
छ) अनैतिक वा भ्रष्ट क्रियाकलाप गरेको प्रमाणित भएमा
ज) पदीय आचरण वा पार्टीको प्रतिष्ठाको विपरित आर्थिक अनुशासनहीनता या कुनै अन्य अनैतिक गतिविधिमा संलग्न भएको प्रमाणित भएमा
झ) पार्टीको विधान वा नियमावलीमा सकृय सदस्यहरुले पालन गर्नु पर्ने भनी उल्लेखित कर्तब्यको उल्लंघन गरेमा
ञ) अन्य पार्टीको सदस्यता वा पद धारण गरेमा
ट) विधानमा उल्लेखित अनुशासन सम्बन्धी अन्य कुराहरुको उल्लंघन गरेमा
२) पार्टीको अनुशासन उल्लंघन गरे त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले लिखित वा मौखिक रुपमा स्पष्टीकरण माग्ने, आलोचना गर्ने, लिखित रुपमा आत्मालोचना गराउने, चेतावनी दिने, पद वा सदस्यताबाट निलम्बन गर्ने र सकृय सदस्यबाट नै हटाउने कार्वाही गर्न सक्नेछ । कार्वाही गर्दा गल्तीको गम्भीरता हेरी कुनै पनि रुपको कार्वाही प्रयोग गर्न सकिनेछ । सकृय सदस्यताबाट निलम्बन गर्ने अधिकतम् अवधि दुई वर्षको हुनेछ । समितिको पदबाट हटाउन सम्बन्धित समितिको बहुमत र समिति सदस्यबाट हटाउन सम्बन्धित समितिको दुई तिहाई मत आवश्यक हुनेछ । कुनै पनि तहको पार्टी समितिको अध्यक्षलाई हटाउँदा माथिल्लो समितिको अनुमोदन लिनु पर्नेछ । केन्द्रीय समितिको सदस्यको हकमा केन्द्रीय समितिको निर्णय नै अन्तिम हुनेछ ।
३) प्रदेश समितिको हकमा अनुशासन उल्लंघन गर्ने समिति सदस्यलाई अनुशासनको कार्वाही गर्ने अधिकार केन्द्रीय समितिको अनुमोदनमा प्रदेश समितिलाई नै हुनेछ ।
४) स्थानीय समितिको हकमा सम्वन्धित समितिको सिफारिसमा एक तह माथिको समितिले अनुसासनको कारवाही अगाडी वढाउनेछ ।
५) कुनै पनि समिति वा सदस्यले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी पालन नगरेमा समितिको हकमा माथिल्लो समितिले विघटन गर्न सक्नेछ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई एक पद घटुवा गर्न सक्नेछ ।
६) पार्टीको निर्णय अवज्ञा गरेमा वा पार्टी हित र प्रतिष्ठामा आँच पु¥याउने काम गरेमा, जन प्रतिनिधिहरुको हकमा पार्टी केन्द्रीय समितिले निर्वाचित भएको तहबाट हटाउने सम्मको कार्वाही गर्न सक्नेछ । पार्टी अनुशासनको कार्वाही भोगिरहेका संगठीत सदस्यले कार्वाही अवधिभर पार्टीको कुनै पनि तह र जनप्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवारी दिन सक्ने छैनन् ।
७) विशेष परिस्थितिमा केन्द्रीय समितिले तोकेको प्रक्रियाको अधिनमा रही कुनै पनि सकृय सदस्य र समिति उपर कार्वाही गर्न सक्नेछ ।
धारा ३६ स्पष्टीकरण दिने मौका
पार्टीको विरुद्ध शत्रुतापूर्ण कार्यवाही गरेको वा बिधान बमोजिम स्वतः सकृय सदस्यता समाप्त हुने अवस्थामा बाहेक कुनै पनि सदस्य वा समिति उपर अन्तिम कार्वाही गर्नु अघि स्पष्टीकरण दिने मौका दिइनेछ ।
धारा ३७ पुनरावेदन
आफूमाथि भएको कार्वाही उपर चित्त नबुझे कुनै पनि सदस्य वा समितिले माथिल्लो समितिमा पुनरावेदन दिन सक्नेछन् । सबै अनुशासन सम्बन्धि अन्तिम फैसला भने केन्द्रिय अनुशासन आयोगले गर्नेछ ।
अध्याय ८ अविश्वासको प्रस्ताव
धारा ३८ अविश्वास प्रस्ताव
१) कुनै पनि समितिको कूल सदस्य संख्याको एक चौथाई सदस्यहरुले स्पष्ट र तथ्यपूर्ण आरोप सहित कुनै पनि पदाधिकारी वा सदस्य माथि अविश्वासको प्रस्ताव समितिमा दर्ता गर्न सक्नेछन् ।
२) यस्तो प्रस्ताव माथि समितिले छलफल गरी कूल सदस्य संख्याको दुइ तिहाई सदस्यहरुले पारित गरेमा उनी पदमुक्त हुनेछ ।
धारा ३९ पदपूर्ति
१) अविश्वासको प्रस्तावबाट पदमुक्त भएमा संबन्धित समितिले पदाधिकारीको हकमा संबन्धित समितिका सदस्यहरु मध्ये र सदस्यको हकमा सर्बजातीय बिधिबाट निर्बाचन गरी पदपुर्ति गर्नेछ ।
२) पदमुक्त भएपछि पदमुक्त ब्याक्तिको पार्टी जिम्मेवारी सम्बन्धित तहको समितिले निर्णय गरे बमोजिम हुनेछ ।
धारा ४० अविश्वासको प्रस्तावमाथि अपिल
अविश्वास प्रस्तावबाट पदमुक्त भएका ब्याक्तिले आगामी सम्मेलन समक्ष संबन्धित समिति विरुद्ध अपिल गर्न सक्नेछ । सम्मेलनले सो अपिलमाथि सुनवाई गरी निर्णय दिएपछि मात्र अरु विषयमा प्रवेश गर्न सकिनेछ ।
अध्याय ९ कोष ब्यवस्थापन
धारा ४१ पार्टीको देहाय बमोजिमको आयश्रोत हुनेछन्
१) सदस्यता शुल्क
२) पार्टी लेवी
३) आर्थिक सहयोग
४) प्रकाशन विक्री वितरण
५) लगानी र व्यवसायवाट प्राप्त आय
६) विशेष कार्यक्रम वा अभियानबाट संकलित रकम
धारा ४२ पार्टीको कोष र यसको संचालन
१) पार्टीको एउटा कोष हुनेछ र यसको संचालन नियमावलीमा तोकिए बमोजिम गरिनेछ ।
२) संकलित तथा आर्जित रकम तोकिएको वैंक खातामार्फत संचालन गरिनेछ । पार्टीको दिनानुदिनको कार्य संचालनको लागि नगदी कोष ९एभततथ ऋबकज० को व्यवस्था गरिनेछ ।
३) पार्टीको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
४) सकृय सदस्यता शुल्क, अन्य आय र लेवीको वाँडफाँट तोकिए बमोजिम हुनेछ ।
धारा ४३ पार्टीको चल, अचल र जिन्सी सम्पत्ति
पार्टीको नाममा भएका चल, अचल र जिन्सी लगायत सम्पूर्ण सम्पत्तिमा केन्द्रीय समितिको पूर्ण स्वामित्व रहनेछ । त्यसको पूर्ण लगत तोकिए बमोजिम राखिनेछ । पार्टीको सम्पति पार्टीको स्वीकृति विना वेच विखन गर्न पाइने छैन । केन्द्रीय समितिको लिखित अनुमति विना लिइएको ऋण तथा दायित्व प्रति पार्टीको जवाफदेहीता रहने छैन ।
धारा ४४ लेखा र लेखा परीक्षण
१) पार्टीको आय ब्यायको लेखा लेखा परिक्षण आयोगले तोकिदिएको तरिका बमोजिम राखिनेछ ।
२) पार्टीको केन्द्रिय निकायहरुको लेखा परिक्षण लेखा परिक्षण आयोगद्वारा हुनेछ ।
३) प्रदेश र स्थानीय निकायहरुको लेखा परिक्षण गर्न लेखा परिक्षण आयोगले सहयोग गर्नेछ ।
अध्याय १० विविध
धारा ४५ तदर्थ समिति
१) निर्वाचित समिति नभएको ठाउँमा माथिल्लो समितिले मनोनयनद्धारा पार्टीको तदर्थ समितिहरु निर्माण गरिनेछ । यस्तो समितिको मुख्य काम आफ्नो तहको सम्मेलन सम्पन्न गराउनु हुनेछ । सम्मेलन सम्पन्न नहुँदासम्म यसले निर्वाचित समितिको अधिकारहरु प्रयोग गरी काम गर्नेछ ।
२) निर्वाचित समितिको आफ्नो अवधि समाप्त भएको अवस्थामा सो समिति स्वतः तदर्थ समितिमा रुपान्तरित हुनेछ । त्यसले तदर्थ समितिमा रुपान्तरित भएको ६ महिनाभित्र सम्मेलन सम्पन्न गर्नु पर्नेछ । ६ महिनाभित्र पनि सम्मेलन नगरेमा माथिल्लो समितिको अनुमति लिइ ६ महिना समय थप गर्न सकिनेछ । यस अवधि भित्र पनि सम्मेलन नगरेमा माथिल्लो समितिले मनोनयनद्वारा नयाँ तदर्थ समिति बनाइ सम्मेलन सम्पन्न गराउनेछ ।
धारा ४६ विभागहरु
१) पार्टीको केन्द्रीय, प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार बिभिन्न विभागहरु गठन गर्न सकिने छ ।
२) विभागको अध्यक्ष, सचिब र सदस्यहरु सम्बन्धित समितिले नियुक्त गर्नेछ ।
३) विभाग अन्तरगत आवश्यकता अनुसार विभिन्न शाखाहरु राख्न सकिनेछ ।
४) विभागका काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।
धारा ४७ नियम बनाउने अधिकार
विधानसंग नबाझ्ने गरी केन्द्रीय समितिले आवश्यक नियमावली र आचारसंहिता बनाउन सक्नेछ । बिधान संग नबाझिने गरी केन्द्रिय समिति बाहेकका समितिहरुले पनि आफ्नो तहको आचार संहिता र नियमावली यहि बिधि अन्तरगत बनाउन सक्नेछन् ।
धारा ४८ बाधा अड्काऊ फुकाउने
यस विधानको कार्यान्वयनमा कुनै बाधा अड्काऊ पर्न आएमा केन्द्रीय समितिले नियम बनाएर उक्त बाधा अड्काउलाई फुकाउने छ । तर त्यसलाई आसन्न केन्द्रिय सम्मेलनले अनुमोदन गर्नु पर्नेछ ।
धारा ४९ विधानको व्याख्या
यो विधान र विधान अन्तरगत बनेको नियम विनियमको कार्यान्वयन गर्ने सन्दर्भमा कुनै विवाद उत्पन्न भएमा यसको व्याख्या गर्ने अधिकार बिधान आयोगलाई हुनेछ । बिधान आयोगको ब्याख्यामा बिबाद आएमा बिधान आयोगको ब्याख्यालाई अन्तरिम निर्णय मान्न सकिनेछ । तर त्यो ब्याख्या तथा अन्तरिम निर्णयलाई केन्द्रिय सम्मेलनबाट अनुमोदन गराउनु पर्नेछ ।
धारा ५० विधान संशोधन प्रस्ताव
१) विधान संशोधन सम्बन्धी लिखित प्रस्ताव केन्द्रीय समितिले केन्द्रिय सम्मेलन समक्ष प्रस्ततु गर्नेछ ।
२) बिधान संसोधन संबन्धि लिखित प्रस्ताव पेश गर्न चाहने प्रदेश समितिले केन्द्रिय सम्मेलन शुरु हुनु एक महिना अगावै केन्द्रिय समितिमा संशोधन प्रस्ताब पठाउनु पर्नेछ ।
३) विधानमा संशोधन पेश गर्न चाहने स्थानीय तथा अन्य समितिहरुले तोकिएको मितिबाट एक महिना भित्र आफ्नो लिखित प्रस्ताव प्रदेश समिति मार्फत केन्द्रीय समिति समक्ष प्रस्तुत गर्नु पर्नेछ । यस्तो प्रस्तावलाई केन्द्रीय समितिले केन्द्रिय सम्मेलनमा निर्णयार्थ प्रस्तुत गर्नु पर्नेछ ।
४) विधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्न चाहने केन्द्रीय समिति सदस्यले केन्द्रीय समितिले पारित नगरेको वा केन्द्रीय समिति सहमत हुन नसकेको विधान संशोधन सम्बन्धी कुनै प्रस्ताव केन्द्रिय सम्मेलन समक्ष प्रस्तुत गर्न चाहेमा गर्न सक्नेछ ।
५) केन्द्रिय सम्मेलनको ५०% भन्दा बढि सम्मेलन प्रतिनिधिले बिधान संशोधन गर्न सक्नेछन् ।
धारा ५१ दोहोरो जिम्मेवारी नहुने
पार्टी भित्रको कुनै पनि सकृय सदस्यलाई पार्टी भित्र कै दाहोरो जिम्मेवारी दिइने छैन । समितिका सदस्यहरु बिभिन्न बिभाग, इन्चार्ज तथा कार्यदलहरुमा बस्न सक्नेछन् । पार्टी भित्रको जिम्मेवारी बहन गर्दै सदन, सरकार, जनकार्यको जिम्मेवारी र स्वयम् सेबकहरुमा रहन सक्नेछन् ।
धारा ५२ आचार संहिता
पार्टीको केन्द्रिय समितिले एक बृहद आचार संहिता निर्माण गरी सबै तहमा तथा सदस्यहरुमा लागु गर्नेछ । बिभिन्न समितिले पनि बिधान तथा नियमावली बिपरित नहुने गरी अफु मातहतको निकायहरुमा आचार संहिता जारी गर्न सक्नेछ । आचार संहिता नैतिकता, भ्रष्टचार, अनुशासन, सामान्ति संस्कार, सदाचार, जनदिशा आदि संग संबन्धित हुनेछन् ।
धारा ५३ जनकार्य
बिभिन्न बिभागहरु तथा बिशेष संयन्त्रहरु मार्फत बिभिन्न प्रकारका जनकार्यहरु गरिनेछन् । किसानको तहमा उच्च मुल्यको जैबिक खेती, सरकारी तहमा जलबिद्युत र युबाहरुको तहमा प्राबिधिक शिक्षा पार्टीको प्राथमिकताको क्षेत्रहरु हुनेछन् । पार्टीको स्वपहल, संसद तथा सरकारहरु मार्फत यस्ता जनकार्यहरुलाई गति प्रदान गरिनेछ ।
धारा ५४ पार्टी संबन्ध
जनकार्य, सरकार, सदन, आन्दोलन तथा निर्बाचनहरुमा बिभिन्न राजनीतिक तथा सामाजिक शक्तिहरु संग मोर्चा बनाइने छ । समान बिचार भएका पार्टीहरु संग एकाता गरिने छ । पार्टीको राजनीतिक उदेश्य पुर्तीको खातिर एक रणनीतिक मोर्चा बनाइनेछ ।
अनुसूची १ झण्डा, संकेत चिन्ह र छाप
१) झण्डाः पार्टीको झण्डाको आकार ३ लम्बाई र २ चौडाईको अनुपातमा हुनेछ । तलको चित्रमा देखाईए जस्तै रातो पृष्ठभागमा पहेलो ६ कुने षडकोण पार्टीको झण्डा हुने छ । रातो को अर्थ किरात तथा नेपाली क्रान्ती, ६ कुनाले ६ जातीय समुह (क्लस्टर) हरु (दलित, आदिबासी, खस, ब्रह्माण, मेधेसी तथा मुसलमान) लाई जनाउदछ र पहेलोको अर्थ पार्टीको लक्ष हो ।
२) संकेत चिन्ह ः झण्डामा रहेको ६ कुनालाई पार्टीको संकेत चिन्हको रुपमा प्रयोग गरिनेछ ।
३) छापः संकेत चिन्हको माथि पार्टीको नाम र तल दायाँ पार्टीको तह देबनगरी लिपीमा लेखिने छ । मुनी बीचमा स्थापना साल देबनगरी लिपीमा इस्बि सम्बतमा लेखिनेछ ।
म ............................................ (आफ्नो नाम) नेपालको गौरवमयी किरात पार्टीको सकृय सदस्यताको जिम्मेवारी लिइरहेको यस महत्वपूर्ण घडिमा महान शहीदहरुलाई संम्झदै पार्टीको झण्डा सामु उभिएर नेपाली जनताको नाममा निम्न प्रतिज्ञाहरु गर्दछु ।
ड्ड म पार्टीको सिद्धान्तको रुपमा किरात तथा सर्बजातीय बिचार र संघिय राजकीय तथा नौलो समाजबादलाई आत्मसात् गर्दै निरन्तर अघि बढ्नेछु ।
ड्ड म किरात प्रदेश बासी जनता, नेपाली जनता तथा नेपालको हितमा आजीवन लागिरहने छु ।
ड्ड म किरात क्रान्ती र नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रमलाई दृढताका साथ अनुशरण गर्नेछु ।
ड्ड म पार्टीको विधान तथा नियमहरुलाई कडाइका साथ पालना गर्नेछु ।
ड्ड म पार्टी गोपनियता तथा पार्टी एकतालाई जस्तो सुकै परिस्थितिमा पनि बचाइ राख्नेछु ।
ड्ड म स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन विताउनेछु ।
ड्ड म पार्टी, किरात प्रदेश र नेपालको हित रक्षाको निम्ति सबै प्रकारका गलत विचारहरु विरुद्ध हिम्मतका साथ संघर्ष गरिरहनेछु ।
ड्ड म पार्टी, किरात प्रदेश बासी जनता, नेपाली जनता, किरात प्रदेश र नेपालको हितको निम्ति संघर्ष गर्न कहिल्यै पछि नहट्ने प्रतिज्ञा गर्दछु ।
किरात क्रान्ति – जिन्दावाद !
नेपाली क्रान्ति – जिन्दावाद !
सर्बजातीय बिचार – जिन्दावाद !
संघिय नौलो समाजबाद – जिन्दाबाद !
सहिदहरु – अमर रहुन् !
किरात पार्टी – जिन्दावाद !
किरात प्रदेश – जिन्दावाद !
जय किरात ! जय नेपाल !!
सहि ः ...................
मिति ः ..............
ठेगाना ः .................

No comments:
Post a Comment